सुहाउँदैन बैगुनीले नगर भो गुनको कुरा |
फलाम दिन नसक्नेले केलाई गर्छौ सुनको कुरा ||
तिम्रो जीवन हिजो आज औशिको रात बनेको छ,
अन्धकारमा हराउनेले नगर भो जुनको कुरा |
फलाम दिन नसक्नेले केलाई गर्छौ सुनको कुरा ||
मेरो लागि धेरै कुरा त्याग गर्याछु भन्छौ अरे,
पानि माग्दा नदिनेले नगर भो खुनको कुरा |
फलाम दिन नसक्नेले केलाई गर्छौ सुनको कुरा ||
नुनको सोझो गरेकै छु भन्छौ अरे जो भेटेपनी,
सित्तै खाने बानि रैछ नगर भो नुनको कुरा |
फलाम दिन नसक्नेले केलाई गर्छौ सुनको कुरा ||
माग फागुनको सिरेटोमा कठ्याङ्ग्रेको यो जिन्दगि,
फाट्या खोलनी नदिनेले नगर भो उनको कुरा |
फलाम दिन नसक्नेले केलाई गर्छौ सुनको कुरा ||
सुन्छु अचेल बिदेशीका ड्रमसेट भित्र हराउछौरे,
नगर भो मादलु र सारंगीको धुनको कुरा |
फलाम दिन नसक्नेले केलाई गर्छौ सुनको कुरा ||
धेरै फुर्ती नगर भो "बाजी" राख्छे यो "अदना",
रातो माटो नपाउनेले नगर भो चुनको कुरा |
सुहाउँदैन बैगुनीले नगर भो गुनको कुरा ||
फलाम दिन नसक्नेले केलाई गर्छौ सुनको कुरा ||
No comments:
Post a Comment